सैनामैना, १४ कात्तिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सैनामैना वडा नम्बर १ को वडा कमिटी पदपूर्ति कार्यक्रम तथा वडा भेला सम्पन्न भएको छ। भेलाले कृषि विकास बैंक मुर्गिया शाखाका पूर्वप्रबन्धक ईश्वरी नेपालको अध्यक्षतामा नयाँ वडा कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ।
नवनिर्वाचित समितिको सचिवमा बालकृष्ण ज्ञवाली चयन हुनुभएको छ भने समितिमा अन्य चार जना सदस्यहरू पनि सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।
सैनामैना नगर सभापति लक्ष्मण पौडेलको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय, जिल्ला तथा स्थानीय तहका नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा सैनामैना नगरका पूर्वमेयर चित्रबहादुर कार्की, रूपन्देही संगठन विभाग प्रमुख तथा पार्टी सहसचिव बाबुराम अर्याल, कोषाध्यक्ष अनिता पन्थी, जिल्ला सदस्यहरू राजबहादुर क्षेत्री र रामनाथ हरिजनको विशेष उपस्थिति थियो।
त्यस्तै, क्षेत्र नम्बर २ का सभापति तथा निर्वाचन समिति संयोजक विष्णुप्रसाद पौडेल, उपसभापति शोभा खत्री, सचिव विशाल थापा, तिलोत्तमा वडा नम्बर ६ का सभापति किरण गौतम, सैनामैना नगर सहसचिव मोहन भट्टराई, नगर कोषाध्यक्ष जानकी शर्मालगायत विभिन्न वडाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर सभापति लक्ष्मण पौडेलले सुकुम्बासी तथा भूमिहीनका संवेदनशील समस्यालाई छिटो निष्कर्षमा पुर्याउन वडा र पालिकास्तरबाटै वास्तविक विवरण सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नगरभित्रका बुद्धिजीवी, समाजसेवी, राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको सहजीकरणमा प्रभावित नागरिकहरूको सही विवरण सङ्कलन गर्न आग्रह गर्नुभयो।
सम्बन्धित निकायमा सही तथ्याङ्क पुगेमा मात्रै वास्तविक भूमिहीन र सुकुम्बासीले राज्यबाट पाउनुपर्ने अधिकार र जग्गाधनी पुर्जा प्राप्त गर्ने प्रक्रिया सहज हुने पौडेलको भनाइ थियो।
नगर सचिव एकबहादुर क्षेत्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पूर्व नगर सदस्य युवराज गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।






