रुपन्देही, १३ कात्तिक
केशब घिमिरे
मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफ्नो सेवा क्षेत्रभित्र पर्ने टोलहरूमा सरसफाई प्रवर्द्धन गर्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले सरसफाई अभियानलाई अझ प्रभावकारी र व्यापक बनाउन सेवा क्षेत्रभित्रका टोलहरूलाई प्रति टोल रू. १२,००० बाह्र हजार रुपैयाँ का दरले नगद सहयोग उपलब्ध गराएको हो।
सैनामैना नगरपालिका वडा नं. ४ मुर्गिया, रूपन्देहीमा अवस्थित यस संस्थाले स्थापनाकालदेखि नै खानेपानी वितरणसँगै सरसफाई, जनचेतना र विभिन्न सामाजिक हितका कार्यलाई उच्च प्राथमिकता दिँदै आएको छ। टोलस्तरमा नियमित सरसफाई, फोहोरमैला व्यवस्थापन तथा समुदायलाई स्वस्थ र सफा राख्ने अभियानलाई टेवा पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाका सचिव निर्मलराज पौड्यालले जानकारी दिनुभयो।संस्थाको यस किसिमको सहयोगले टोल विकास संस्था तथा स्थानीयवासीहरूलाई सरसफाई कार्यक्रम सञ्चालन गर्न थप ऊर्जा मिल्ने संस्थाका अध्यक्ष लालबहादुर रावलले विश्वास व्यक्त गर्नुभयो। साथै, यस कदमले संस्थाको मूल नारा “सफा पानी पिउँ, निरोगी बनौं” लाई अझ सार्थक बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।
संस्थाका अध्यक्ष लालबहादुर रावलको अध्यक्षता तथा सचिव निर्मलराज पौड्यालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा ३० वटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, संस्थाका कार्यसमिति सदस्यहरू र कर्मचारीहरूको सहभागिता रहेको थियो।






