सैनामैना ,१७ कात्तिक
केशब घिमिरे
रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ मा रहेको मनकामना खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैटौँ साधारण सभा तथा चौंथो अधिवेशन मंगलबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष गोर्ख बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सैनामैना वडा नं. २ का वडा अध्यक्ष अम्बर बहादुर कडेल प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अम्बर बहादुर कडेलले साधारण सभा तथा अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले स्वच्छ र सफा खानेपानी आपूर्तिमा जोड दिँदै भन्नुभयो, “खानेपानी स्वच्छ राख्न ‘मूलदेखि मुखसम्म’ भन्ने मान्यतालाई आत्मसात गर्नुपर्छ। उपभोक्ता समिति र सम्पूर्ण उपभोक्ताहरूले यो सिद्धान्त बुझेर अगाडि बढेमा कुनै पनि संस्था कमजोर हुँदैन। मूलको पानी सफा छ भने उपभोक्ताको मुखसम्म सफा पानी पुर्याउनु हामी सबैको दायित्व हो।” उहाँले संस्थाको सर्वाङ्गीण विकासका लागि सबैलाई हातेमालो गर्दै अघि बढ्न सुझाव दिनुभयो।
कार्यक्रममा संस्थाका अध्यक्ष गोर्ख बहादुर क्षेत्रीले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष कुमारी थापा बराल मगरले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक सुरेन्द्र पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
संस्थाका उपाध्यक्ष दिपेन्द्र अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ऋषिराम पौडेलले गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सैनामैना वडा नं. २ का पूर्व वडा अध्यक्ष कामदेव भुसाल तथा अतिथिका रूपमा वडा सदस्यहरू मदन पन्थी, दुर्गा केसी, जुनकुमारी राना र मोती सुनारको उपस्थिति रहेको थियो।
अध्यक्षमा ५ जनाको उम्मेदवारी
मनकामना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौंथोैं अधिवेशनका क्रममा आगामी नयाँ कार्यसमिति तथा लेखा संयोजक पदका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । संस्थाको नेतृत्व चयनका लागि विभिन्न पदमा उत्साहजनक रूपमा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
संस्थाको सर्वोच्च पद अध्यक्षका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कलाधर घिमिरे, तारा बहादुर खड्का, सुरेश बोगटी, दिपेन्द्र अर्याल र टिका रानाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी उपाध्यक्ष पदका लागि दुर्गा बहादुर राना, राज कुमार पन्थी र गंगा बहादुर पुन मैदानमा उत्रिएका छन्। संस्थाको प्रशासनिक जिम्मेवारी सम्हाल्ने सचिव पदका लागि कमला सुनार , कर्ण बहादुर थापा र श्रषिराम पौडेलले दाबी पेस गरेका छन् भने सहसचिव पदमा बसन्ता भुसाल, गिता पाण्डे र तुलसा पराजुलीको उम्मेदवारी परेको छ।
आर्थिक दायित्व बहन गर्ने कोषाध्यक्ष पदका लागि लोकमणि भुसाल र कुमारी थापा बरालबीच प्रतिस्पर्धा हुने भएको छ। उता संस्थाको आर्थिक पारदर्शिता कायम गर्ने लेखा संयोजक पदमा भने डिल्ली राज कँडेलको मात्र उम्मेदवारी दर्ता भएको छ।
यसैगरी संस्थाको कार्यसमिति सदस्य पदका निम्ति नेत्र प्रसाद पौडेल, शोभा सारु , राधा न्यौपाने, सिता थापा मगर, रितु वि.क., निर्मला रायमाझी र भिम प्रसाद वि.क. ले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
अधिवेशनमार्फत सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी राखिने र सहमति हुन नसकेको खण्डमा लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नयाँ कार्यसमिति चयन गरिने बुझिएको छ। उम्मेदवारी दर्ता भएसँगै संस्थाका उपभोक्ता तथा स्थानीयवासीमा अधिवेशन र नयाँ नेतृत्वलाई लिएर व्यापक चासो र सरगर्मी बढेको छ।





