भैरहवा । दिगो पर्यटन परियोजना (Sustainable Tourism Project–STP) को आयोजनामा, राष्ट्रिय बहिरा महासंघ नेपालसँगको सहकार्य तथा होटल संघ नेपाल, लुम्बिनी प्रदेशको समन्वयमा सञ्चालन हुने हाउसकिपिङ तालिमको उद्घाटन सम्पन्न भएको छ। २०८३ साल असोज १ गते सिद्धार्थनगर, भैरहवास्थित नान्स होटलमा आयोजित कार्यक्रममार्फत तालिमको औपचारिक उद्घाटन गरिएको हो।
कार्यक्रमका अध्यक्ष तथा होटल संघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले तालिमले सहभागीहरूलाई व्यावहारिक सीप तथा दक्षता हासिल गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त सीपलाई उपयोग गर्दै प्रशिक्षार्थीहरूले रोजगारीका अवसर प्राप्त गर्नुका साथै भविष्यमा आफैं रोजगारी सिर्जना गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इम्तियाक महोम्मद खान रहनुभएको थियो। कार्यक्रममा Sustainable Tourism Project का प्रशासन तथा वित्त प्रमुखको समेत विशिष्ट आतिथ्यता रहेको थियो।
तालिमको मुख्य उद्देश्य पर्यटन तथा आतिथ्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्नुका साथै सहभागीहरूलाई व्यावसायिक सीप प्रदान गरी रोजगारीका अवसरसँग जोड्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रम होटल संघ नेपाल, लुम्बिनी प्रदेशका महासचिव टेकनाथ बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो।






