सैनामैना । न्यु एकेडेमी बोर्डिङ स्कुल, सैनामैनाका कक्षा १० का विद्यार्थीहरूले संघीय प्रतिनिधि सभाको नमुना बैठक प्रस्तुत गरेका छन् । शुक्रबार विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले संघीय संसद्को बैठक सञ्चालन प्रक्रिया, सत्तापक्ष र प्रतिपक्षको भूमिका तथा सरकारका विभिन्न निकायको काम-कर्तव्यबारे व्यवहारिक अभ्यास गरेका हुन् ।
कक्षा १० को सामाजिक विषयअन्तर्गत रहेको नमुना संघीय प्रतिनिधि सभालाई विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने उद्देश्यले वास्तविक संघीय संसद्को अभ्यास झल्कने गरी प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरूले सभामुख, राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न मन्त्री र प्रतिपक्षी दलका नेताको भूमिका निर्वाह गर्दै करिब तीन घण्टासम्म दुई चरणमा बैठक सञ्चालन गरेका थिए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष मीनप्रसाद पौडेल, सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम शर्मा, सैनामैना वडा नं. २ का अध्यक्ष अम्मरबहादुर कँडेल, वडा नं. ४ का अध्यक्ष रामप्रसाद अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका एकेडेमिक चिफ नवीन प्रभु, शिक्षक, विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो ।
नमुना संसद् बैठकमा सभामुख आकांक्षा सुनार, राष्ट्रपति सौरभी सारु, प्रधानमन्त्री सिम्रन पौडेल, अर्थमन्त्री सुजल पृथी, सूचना तथा सञ्चारमन्त्री मेरिना पोख्रेल तथा प्रमुख प्रतिपक्षी दलका नेता सुदिक्षा थापालगायत विद्यार्थीले आ–आफ्नो भूमिका निर्वाह गर्दै प्रस्तुति दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम शर्माले संसद्को गठन प्रक्रिया र संसद्ले गर्ने कामका विषयमा विद्यार्थीको ज्ञान बढाउन नमुना संसद् अभ्यास प्रभावकारी हुने बताउनुभयो । उहाले सत्तापक्ष र प्रतिपक्षको भूमिकाबारे जानकारी प्राप्त गर्नुका साथै तथ्यका आधारमा आफ्ना कुरा राख्ने र कानुनी विषय बुझ्ने क्षमता विकासमा समेत यस प्रकारका अभ्यासले सहयोग पुग्ने जनाउनुभयो ।
वडा नं. २ का अध्यक्ष अम्मरबहादुर कँडेलले विद्यार्थीहरूले प्रस्तुत गरेको नमुना संसद् हेर्दा आफू संघीय संसद्मै बसेर बैठक हेरिरहेको जस्तो अनुभूति भएको बताउनुभयो । त्यस्तै वडा नं. ४ का अध्यक्ष रामप्रसाद अधिकारीले तीनै तहका सरकारमा सभा सञ्चालनका आफ्नै प्रक्रिया हुने उल्लेख गर्दै विद्यार्थीहरूले संघीय संसद्को बैठकको नमुना प्रस्तुत गर्नु प्रशंसनीय अभ्यास भएको बताउनुभयो । अभिभावकको तर्फबाट वोल्दै दीपेन्द्र ढकालले विद्यार्थीहरूले कक्षाकोठामा पढेको विषयलाई व्यवहारमै उतारेर प्रस्तुत गरेको नमुना संसद् अभ्यास निकै प्रभावकारी लागेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक टोपलाल भट्टराईले संघीय संसद्को बनोट, काम, कर्तव्य तथा बैठक सञ्चालन प्रक्रियाबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । विद्यार्थीहरूले सत्तापक्ष र प्रतिपक्षका साथै राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न मन्त्रीको भूमिका निर्वाह गरेर संसद् बैठकको अभ्यास गरेको उहाले जानकारी गराउनुभयो । यसबाट विद्यार्थी र अभिभावकलाई समेत प्रतिनिधि सभा बैठक सञ्चालन प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त भएको उहाको भनाइ थियो ।
विद्यालयका अध्यक्ष मीनप्रसाद पौडेलले आफूहरूले अध्ययन गर्ने समयमा यस्ता अभ्यासको अवसर नरहेको स्मरण गर्दै अहिलेका विद्यार्थीले प्रविधि र व्यवहारिक अभ्यासमार्फत सिक्ने अवसर पाएको बताउनुभयो । अभिभावकलाई समेत सहभागी गराएर संघीय संसदमा बैठक कसरी सञ्चालन हुन्छ भन्ने विषयमा विद्यार्थीले प्रत्यक्ष अभ्यास गरेको उहाको भनाइ छ । न्यु एकेडेमी अन्य विद्यालयभन्दा फरक पहिचान बनाउन व्यवहारिक तथा अतिरिक्त क्रियाकलापमार्फत समेत विद्यार्थीको ज्ञान र क्षमता विकासमा जोड दिँदै आएको पौडेलको भनाइ थियो ।
कार्यक्रमको औपचारिक सहजीकरण शिक्षक मनोज पौडेलले गर्नुभएको थियो ।






