तिमी मेरो जिन्दगीको यात्रामा मेरा पाइतला बनिदिनु, चप्पल बनिदिनु
तिमीसँगै मलाई कोसौँ टाढाको यात्रा गर्नुछ।
तिमी मेरो मुटुको धड्कन बनिदिनु, सास बनिदिनु
तिमीसँगै जिउनुछ, तिमीसँगै मर्नुछ। तिमीसँगै कोसौँ टाढाको यात्रा गर्नुछ।
बिहानीपखको किरण बनी उदाउनु
म नअस्ताउन्जेलसम्म तिमी उदाइरहनु
म फुलुन्जेलसम्म तिमी नझर्नु
मेरो प्रेमको पर्खाल बनिदिनु
कसैले तिम्रो सबैभन्दा खास मान्छे को हो भनी सोध्दा
त्यहाँ मेरो नाम भनिदिनु।
मेरो बचपना झेल्ने अभिभावक
म रमाउँदा रमाउने
म रुँदा रोइदिने
म हास्दा हासिदिने सहयात्री
बनिदिनु
कसैले सोधे तिम्रो खास मान्छे को हो भनी
त्यहाँ मेरो नाम भनिदिनु।
म तिमीभित्र मेरा सबै आफन्त, इष्टमित्र भेटूँ
कहिले मेरो आमाको झैँ स्नेह भेटूँ
कहिले मेरो बुबाको झैँ जिम्मेवारी भेटूँ
साथीको जस्तै साथ पाऊँ
तिमी वरिपरि हुँदा दाजुभाइको जस्तै सुरक्षाकवच पाऊँ
तिमीभित्र सबै-सबै भेटाऊँ
अन्त केही खोज्न नपरोस्
तिमीबाहेक कहिल्यै कोही रोज्न नपरोस्।
म भन्न पाऊँ शानसँग
प्रेम धेरै छ, अपेक्षा पनि धेरै छन्
खोजेरै नभेटिने
मेटाएरै नमेटिने प्रेमिल मेरै छन्।
तिमीसँग भन्न बाँकी अरू केही नहोस्
तर अरूसँग भन्न बाँकी सबै तिमी मात्र हुनु
मैले आँखा खोल्दा सबैभन्दा पहिला तिमीलाई
देखूँ
मैले आँखा चिम्लिँदा सबैभन्दा पहिला तिम्रो कल्पना गरूँ।
तिमी मेरो हर सुख-दुःखमा उपस्थित रहनु
पाहुनाजस्तै बोलाइरहन नपरोस्
मेरो जिन्दगीको चाडपर्वमा रमाउन
झरी, हावाहुरी, रुझ्न-ओतिन म बास बस्न तिम्रो छाती होस्
सबै विश्वास, मान-सम्मान तिमीमाथि होस्
म निदाउन तिम्रो छाती होस्।
✍️ गीता न्यौपाने





