बुटवल, २२ कार्तिक
केशब घिमिरे
सैनामैना नगरपालिका–२ मा आयोजित ‘टोलस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता २०८३’ को उपाधि कालिका उच्छडिहवा टोल विकास संस्थाले हात पारेको छ। संगम युथ क्लब, परोहाको आयोजनामा आइतबार सम्पन्न फाइनल खेलमा कालिका उछ्डिहवा टोल विकास संस्थाले जित निकाल्दै उपाधि चुमेको हो।
प्रतियोगितामा विजेता बनेको कालिका उछ्डिहवा टोल विकास संस्थाले नगद ११,१११ रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्यो भने उपविजेता बनेको हरियाली टोल विकास संस्थाले नगद ५,५५५ रुपैयाँ र मेडलमा चित्त बुझायो।
वनदेवी खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा १–० गोल अन्तरले विजयी हुँदै कालिका उछ्डिहवाले उपाधि सुरक्षित गरेको हो।
विजेता तथा उपविजेता टिमलाई सैनामैना वडा नं. २ का वडाध्यक्ष अम्मर बहादुर कँडेल, क्लबका अध्यक्ष सुजन पौडेल र कार्यक्रम संयोजक भुवन भुसालले पुरस्कार वितरण गर्नुभएको थियो।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडाध्यक्ष अम्मर बहादुर कँडेलले क्लबले सेभेन ए साइड प्रतियोगिता आयोजना गरेर तल्लो तहबाटै फुटबल खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएकोबारे चर्चा गर्नुभयो। साथै, आगामी दिनमा वडाबाटै राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो। क्लबले यसै वर्षदेखि ‘वनदेवी सेभेन ए साइड फुटबल प्रतियोगिता’ लाई आफ्नो ब्राण्डका रूपमा सञ्चालन गर्न सुरु गरेको छ।
वडा तहबाटै फुटबल खेलाडीहरूलाई प्रोत्साहन गर्न यो प्रतियोगितालाई ब्राण्डका रूपमा अघि बढाइएको क्लबका अध्यक्ष सुजन पौडेलले बताउनु भयो ।कार्तिक २१ गतेबाट सुरु भएको प्रतियोगितामा कुल ८ वटा टोल विकास संस्थाका टिमहरूले प्रतिस्पर्धा गरेका थिए। कार्यक्रममा ९ वटै टोल विकास संस्थाका अध्यक्षहरूको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन क्लबका सचिव महेश खनालले गर्नुभएको थियो।






